पहिले सूचना तथा सञ्चार प्रविधिको प्रयोग र सञ्चालन, विकास र यसको भूमिकाका बारेमा बुझ्नु अघि अहिलेको कोरोना भाइरसले विकसित गरेको केही अवस्थाको अध्ययन, अनुसन्धान तथा विश्लेष्ण गरौँ। हाल यस कोरोना भाइरसले विश्वलाई नै तरङ्गित गरेको अवस्थामा नेपालमा समेत यसले प्रभाव परिरहेको छ । नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा खाडल नै ल्याएको छ । पर्यटन, वैदेशिक रोजगार, उद्योग, विकास निर्माणको कार्य तथा व्यापार समेतलाई असर गरेको छ । विश्वका लगभग सबै राष्ट्रहरूमा यात्रा प्रतिबन्ध लगाइएकोले नेपालको पर्यटन क्षेत्रलाई ठूलो असर परेको छ । भिजिट नेपाल २०२० बाट २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को सम्पूर्ण प्रचारमुखी कार्यक्रमहरू स्थगित गर्नु परेको अवस्था छ । वैदेशिक रोजगारीबाट देशमा भित्रिने विप्रेषण (रेमिट्यान्स) मा भारी गिरावट, रोजगारी गुमेको तथा उद्योगबाट हुने उत्पादन रोकिएकाले, विकास निर्माणको कार्य तथा व्यापार समेतलाई असर परेकाले नेपालको समग्र अर्थतन्त्रलाई यसले नकारात्मक प्रभाव पारेको छ । राष्ट्रिय गौरवका आयोजना लगायतका विकासका आयोजनाहरू समेत प्रभावित भएका छन् । पूर्वधार निर्माण कार्यमा लागत बढ्नुका साथै निर्माण भैसकेका संरचना काम नलाग्ने अवस्था समेत आउन सक्ने देखिएको छ । नेपाल सरकारले भाइरस नियन्त्रणका लागि विभिन्न कदम चालेको छ जसमा चैत ११ गतेदेखि नै देशव्यापी रूपमा लकडाउन (बन्दाबन्दी) समेत गरिएको छ, तैपनि यो पूर्ण नियन्त्रणमा भने आउन सकेको छैन र अझै केही समय लाग्ने देखिन्छ ।
विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको विभिन्न लेखहरूमा भाइरसको प्रभाव अझै केही महिना भएता पनि यसको आंशिक प्रभाव २/३ वर्षसम्म रहन सक्ने प्रक्षेपण गरेको छ । महामारीको इतिहास हेर्ने हो भने विश्वमा विगतमा यस्ता महामारी धेरै पटक फैलिएको देखिन्छ । स्पेनिस फ्लुले सन् १९१८-१९२० सम्म, एसिएन फ्लूले सन् १९५६-१९५८ सम्म, फ्लू महामारी (द हङ्कङ् फ्लू पनि भन्ने गरिन्छ) ले सन् १९६८ मा, र सन् १९८१ मा सुरु भएको एचआईभि/एड्सको संक्रमण (सन् २००५-२०१२ सम्म) लगायत अन्य महामारीले विश्वलाई नै तरंगित पारेको देखिन्छ । यिनीहरूको अध्ययन गर्दा हालको कोरोना भाइरसले विश्वसहित नेपालमा के-कस्तो प्रभाव पार्न सक्दछ भन्ने अनुमान गर्न सकिन्छ । अहिले विश्वका अधिकतम विकसित राष्ट्रहरू यसको भ्याक्सिन बनाउने प्रयासमा रहेका छन् । यो भ्याक्सिन कहिले कसरी बन्छ भन्ने यकिन गर्न नसकिए पनि यो भ्याक्सिनको बनेपछि पनि प्रत्येक नेपालीले यसको प्रयोग गर्न अवश्य पनि समय लाग्ने नै छ भन्ने विषयमा कसैको दुई मत नहोला । तसर्थ यस परिस्थितिमा हामी कोरोनारहित भन्दा पनि कोरोनासहित नै ज्यून बाध्य हुने परिवेश सृर्जना भएको छ । पहिले जस्तो स्वतन्त्ररूपमा जीवनशैली यापन गर्ने, कामकाज गर्न र हिडडुल गर्न पक्कै पनि केही समय लाग्ने नै छ ।
सूचना प्रविधिमा नेपाल:
नेपालको सरकारी कार्यालय, संघसंस्था, बैङ्क, विद्यालय, कलकारखाना लगायत सबै ठाँउमा अझै पनि सूचना तथा सञ्चार प्रविधिको प्रयोग यथेष्ठ रूपमा भएको देखिन्न । अन्य संस्थाहरूमा भन्दा बैङ्किङ् प्रणालीमा सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग भएको देखिन्छ जुन अझै पुगेको छैन । अनलाइन पेमेन्ट, मनि डिजिटाइजेशन, ई-गभरनेन्स लगायतमा हामी विश्वको अन्य मूलुकभन्दा धेरै नै पछाडि छौँ । इन्टरनेशनल टेलिकम्यूनिकेशन युनियन (आईटियू) द्वारा सन् २०१७ मा सूचीकृत गरेको विवरण अनुसार विश्व आईसिटी डेभलपमेन्ट इन्डेक्सको सूचीमा १ सय ७६ देशहरु मध्ये नेपाल १४०औँ स्थानामा छ भने सार्कमा ५ औं स्थानमा रहेको अवस्था छ ।
सूचना प्रविधिको उपयोग र महत्व:
सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग गरी यस महामारीबाट उत्पन्न आर्थिक संकटलाई निर्मूल पार्न तथा दैनिक जीवनमा समेत सहजता ल्याउनका लागि समेत यसको अध्यावधिक प्रयोग गरिनु आजको आवश्यकता हो । आईटियूले प्रतिपादन गरे बमोजिम सूचना तथा सञ्चार प्रविधिलाई प्रकोप रोकथाम, शमन, प्रतिक्रिया तथा रिकभरीमा यसको सही उपयोग गर्न सकिन्छ । हालको कोभिड-१९ मात्र होइन नेपालमा विभिन्न किसिमका प्राकृतिक प्रकोपहरू आएको देखिन्छ । वि.सं. २०७२ सालको भूकम्पले करिब नौ हजार व्यक्तिको ज्यान लिनुका साथै धेरै आर्थिक क्षति समेत भएको थियो । प्रत्येक वर्ष जस्तो बाढी पहिरो जस्ता प्राकितक प्रकोप र झाडा पखला जस्ता रोगको समेत महामारी फैलिएको देखिन्छ । प्रविधिको प्रयोगबाट यस्ता महामारी, प्राकृतिक प्रकोप सम्बन्धी रियल टाइम डाटा आदानप्रदान गर्न आर्थिक पक्षको विश्लेण गर्न र भविष्यमा हुने यस्ता प्रकोपबाट बच्न र त्यसको प्रभाव न्यूनीकरण गर्न यसको महत्त्वपूर्ण भूमिका हुन्छ । महामारीमा प्रविधिको प्रयोगमा ज्वलन्त उदाहरण बनेको राष्ट्र जापान हो । जापानमा हाम्रोमा भन्दा धेरै प्राकृतिक प्रकोप आइरहन्छ र पनि उनीहरूलाई त्यसले धेरै प्रभाव पारेको हुँदैन । सञ्चार प्रविधिको पूर्वधारहरू जस्तै पत्र-पत्रिका, रेडियो, टेलिभिजन, स्याटेलाइट, मोबाइल तथा ईन्टरनेटको माध्यमबाट प्रकोपबाट हुन सक्ने क्षतिलाई घटाउन तथा मानिसहरूमा हुन सक्ने जोखिम घटाउन सकिन्छ । दूरसञ्चार प्राकृतिक विपत्ति व्यवस्थापनको सबै चरणहरूमा महत्त्वपूर्ण हुन्छ; मिटिगेशन, तयारी, प्रतिक्रिया, राहत, रिकभरी र पुनःस्थापनामा स्थानीय समुदाय, सरकार, निजी क्षेत्र, प्रकोप व्यवस्थापन एजेन्सीहरू मौसम विज्ञान संगठनहरू, नागरिक समाज, मानवीय एजेन्सीहरू र अन्तर्राष्ट्रिय संस्थाहरूले प्रकोप व्यवस्थापन गतिविधिहरूको राम्रो समन्वय गर्न सूचना तथा सञ्चार प्रविधिको पहुँच सुनिक्षित गर्नुपर्दछ । सार्वजनिक-निजी साझेदारीमा कार्य गर्नका लागि यो उत्तम तरिका पनि हो ।
हाल माहामारीका कारण देश करिब दुई महिनादेखि लकडाउनमा छ भने अझ १/२ वर्षसम्म पनि सामाजिक दुरी कायम गर्नुपर्ने देखिन्छ । यस्तो अवस्थामा हाम्रा बैङ्किङ् प्रणाली, सरकारी कार्यालय, निजीक्षेत्र लगायत धेरै संस्थाहरू अझ पनि म्यानुअल अपरेशनमा नै छन् । लकडाउनको अवधि मै वा अन्त्य पश्चात् आर्थिक गतिविधि सुचारू गर्नु पर्ने हुन्छ र यस अवस्थामा अन्य विकासित राष्ट्रहरूको तुलनामा कोभिड-१९को संक्रमण रहिरहन सक्ने आकलन गर्न सकिन्छ । सामाजिक दुरी कायम गर्न सरकारी कार्यालयहरूमा कामकाज अनलाइन प्रविधिबाट गर्नुपर्ने हुन्छ, बैङ्कमा मनि ट्रान्सफर लगायत सामान्य जीवन यापनका लागि आवश्यक सर-सामानको किन-बेच समेत ई-पेमेन्टबाट हुनुपर्ने छ । समग्रमा भन्दा सूचना प्रविधिका विभिन्न साधनहरू जस्तै; ई-गभरनेन्स, ई-कमर्स लगायत सञ्चार माध्यमहरू रेडियो, टेलिभिजन, पत्र-पत्रिका समेत ईन्टरनेटको माध्यमबाट सञ्चालन हुनुपर्ने छ । विद्यालय तथा विश्वविद्यालयहरुले अनलाइन शिक्षा, डिस्टान्स लर्निङ् उपलब्ध गराउन बाध्य हुनुपर्ने देखिन्छ । सर्वसाधरणसँग सिधा सम्पर्कमा रहन पर्ने विद्युत प्राधिकरण, खानेपानी संस्थान, सूचना तथा प्रसारण विभाग, टेलिकम संस्था जस्ता विभिन्न विभाग, संस्थाहरूले अनलाइन मार्फत सेवाप्रवाह गर्नुपर्ने हुन्छ । स्वास्थ्य संस्थामा डाक्टरको एपोइन्टमेन्ट लगायतका सेवाहरू टेलिमेडिसिन तथा ई-मेडिसिनका माध्यमबाट सञ्चालन गर्नुपर्ने हुन्छ । सफ्टवेयर एप्लिकेशनका माध्यमबाट अधिकतम सूचना प्रवाह, स्वास्थ्य सम्बन्धी जानकारी, जागरणको कार्य गर्नुपर्ने हुन्छ । हाल नेपाल टेलिलकम लगायत दुरसञ्चारका माध्यमहरूले सेलुलर ब्रोडकास्टिङ् सर्भिस तथा टेक्स्ट म्यासेजिङ्का माध्यमा सूचना प्रवाहलाई निरन्तर दिनुपर्ने छ । प्रविधिको माध्यमबाट विश्वले प्राप्त गरेको सूचना तथा अनुभव र उत्तम प्रयासका बारे जानकारी प्राप्त गर्न सजह हुन्छ ।
उदाहरणका लागि कोरोना भाइरसको जोखिम न्यूनीकरणमा दक्षिण कोरियाबाट भएको सूचना तथा सञ्चार प्रविधिको प्रयोग बारे चर्चा गरौँ । कोरियाले महामारीको रूपमा भाइरसलाई फैलिन थाल्ने बित्तिकै कोभिड -१९ डिजिटल रेस्पोन्स लागू गरेको थियो । यसमा मोबाइलको माध्यमबाट कोविड सम्बन्धी सूचना, स्वास्थ्य सम्बन्धी जानकारी, प्रिभेन्टिभ मेजरका बारेमा जनचेतना फैलाएको थियो । आर्टिफिसियल ईन्टेलिजेन्सको माध्यमबाट त्यँहाका स्वास्थ्यकर्मी तथा अनुसन्धानकर्ताहरूलाई कोविड-१९ सम्बन्धी लक्षण, जोखिम, सर्ने माध्यम लागायतको सूचना संग्रह, विश्लेण गरी उपयुक्त प्रतिक्रिया गर्न सहयोग गरेको छ । साथै एआई वेस डाइगोनोसिस उपकरण तथा एप्सहरूको निर्माणले बिरामी, स्वास्थ्यकर्मी तथा अन्य सामान्य जनतालाई कोरोनासँग जुध्न सहज, छरितो र सफल तुल्याएको छ । व्यक्तिहरूको विदेश यात्राको विवरण, कोविड-१९ को स्क्रीनिंग केन्द्रको पहिचान, प्रारम्भमा नै बिरामीको पहिचान, महामारी विज्ञान सर्वेक्षणका आधारमा संक्रमण स्थलहरूको आइसोलेसन लगायत सूचना प्रविधि मार्फत जनमानसमा पुर्याइएको छ । माक्सको रियल टाईम वितरण विवरण मोबाइल तथा वेवसाइटमा अध्यावधिक गर्ने तथा राहत वितरणमा असुविधा हटाउन तथा प्रभावकारी बनाउन समेत प्रविधिको प्रयोग भएको छ ।
महामारीले अर्थतन्त्रमा प्रभाव पारेको छ । अब संकटलाई अवसरमा बदल्ने समय आएको छ । प्रविधिको अधिकतम प्रयोग गरेर देशलाई नयाँ उर्जा थप गर्नुपर्ने छ । यसका लागि स्वास्थ्य, कृषि, शिक्षा, उद्योग, पर्यटन तथा वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग अनिवार्य छ । ई-एजुकेशन, टेलिमेडसिन, र ई-कमर्स लगायतको विकास गर्नु पर्दछ । नेपालमा अहिले न्यून ज्याला तथा दक्ष जनशक्ति ईन्जिनियर तथा आइटी प्राविधिकहरू रहेकाले आइटी हबको रूपमा विकास भैरहेको छ यसलाई समेत मध्यनजर गरेर सरकारले नीति तथा कार्यक्रम ल्याएमा नेपालीहरु विदेशीने समस्याको केही हदसम्म समाधान भै रोजगारीमा वृद्धि समेत हुने देखिन्छ।
Comments
Post a Comment